सप्तरीको राजविराजमा वर्षौंदेखि हुलाकी सडकमा उड्ने अत्यधिक धुलोका कारण स्थानीयवासीको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि सडक अवरुद्ध गरिएको छ ।
बुधबार बिहानदेखि राजविराज नगरपालिका–१ स्थित हनुमान मन्दिरदेखि चनौरा–पडरिया क्षेत्रसम्मको हुलाकी सडक स्थानीयवासीले बन्द गरेका हुन्। निर्माणाधीन सडकमा धुलो नियन्त्रण, नियमित पानी छर्किने व्यवस्था तथा सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले आवागमन पूर्ण रूपमा रोकिदिएका छन् ।
स्थानीय निरञ्जन झाले लामो समयदेखि धुलोका कारण बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारणमा श्वासप्रश्वास, एलर्जी लगायतका स्वास्थ्य समस्या बढ्दै गएको बताए । पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि कुनै ठोस पहल नभएकाले बाध्य भएर सडक अवरुद्ध गर्नुपरेको उनको भनाइ छ ।
आन्दोलनकारीहरूले राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख ईसरत परवीन, प्रदेश सांसद महेश यादव, संघीय सांसद रामजी यादवलगायत जनप्रतिनिधिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले स्थानीय समस्याप्रति सम्बन्धित निकाय गम्भीर नभएको आरोप समेत लगाएका छन् ।
स्थानीयवासीले “बिना आन्दोलन समस्या समाधान नहुने अवस्था सिर्जना भएको” भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूले नयाँ सरकारप्रति समेत असन्तोष जनाउँदै जनताको आधारभूत समस्यामा ध्यान नदिएको आरोप लगाएका छन् ।
सडक अवरुद्ध भएपछि उक्त क्षेत्रमा सम्पूर्ण यातायात आवागमन प्रभावित भएको छ। स्थानीय प्रशासन र आन्दोलनकारीबीच छलफलको प्रयास भइरहेको बताइएको छ ।