बाराको दुधौरा खोलामा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी गरेको आरोपमा एउटा एक्साभेटर र दुईवटा टिपर नियन्त्रणमा लिई जरिवाना गरिएको छ ।
डिभिजन वन कार्यालय, बाराका अनुसार गत वैशाख २४ गते वन अधिकृत तथा वातावरण निरीक्षक राजेश साह नेतृत्वको गस्ती टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–सञ्चालित ठेक्का क्षेत्रभित्र अवैध रूपमा उत्खनन भइरहेको अवस्थामा सवारीसाधन नियन्त्रणमा लिएको हो ।
राहुल निर्माण सेवाले बा.२क ८९९८ नम्बरको एक्साभेटर तथा ना.७ख ४८२५ र मधेस प्रदेश ०३–००१ क ३०११ नम्बरका दुई टिपर प्रयोग गरी मापदण्डविपरीत उत्खनन तथा ढुवानी गरिरहेको फेला परेको कार्यालयले जनाएको छ ।
कार्यालयले आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति बारामा पत्राचार गरेको थियो । त्यसपछि जिससले जीतपुरसिमरा उपमहानगरपालिकालाई कारबाही गर्न निर्देशन दिएपछि उपमहानगरपालिकाले ती सवारीसाधनलाई ४५ हजार रुपैयाँ जरिवाना गरी छाडेको पथलैया सबडिभिजन वन कार्यालयका प्रमुख तथा वन अधिकृत मधुकान्त सिंहले जानकारी दिए ।
डिभिजन वन कार्यालय बाराका प्रमुख डिएफओ सुजीतकुमार झाका अनुसार वन क्षेत्रमा अनुमति बिना नदीजन्य पदार्थ थुपारेर एक्साभेटरमार्फत टिपरमा लोड गरी ओसारपसार भइरहेको सूचनापछि निगरानी बढाइएको हो ।
उनका अनुसार उपमहानगरपालिकाले ठेक्का लगाएपछि दुधौरा पुल नजिक ठेकेदार कम्पनीले वन कार्यालयको अनुमति बिना वन क्षेत्रमा सामग्री थुपार्ने कार्य गर्दै आएको थियो । मौखिक रूपमा रोक्न आग्रह गर्दा पनि गतिविधि नरोकिएपछि कारबाही गरिएको उनले बताए ।
मधेस प्रदेश वन मन्त्रालयबाट स्वीकृत वातावरणीय परीक्षण प्रतिवेदनअनुसार नदीजन्य पदार्थ उत्खनन गर्दा स्थानीय श्रमिकमार्फत सामान्य औजार प्रयोग गर्नुपर्ने व्यवस्था छ । एक्साभेटर वा जेसिबी प्रयोग गर्नुपरेमा सम्बन्धित निकायको प्राविधिक सिफारिस र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनिवार्य हुने उल्लेख छ ।
वातावरण संरक्षण ऐनअनुसार स्वीकृत प्रतिवेदनविना वा मापदण्डविपरीत उत्खनन तथा ढुवानी गर्ने व्यक्ति वा कम्पनीलाई १० लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ ।
प्रतिवेदनअनुसार दुधौरा खोलाबाट १५ हजार ७८९.०३ घनमिटर, बालगङ्गा खोलाबाट २५ हजार ५९.८४ घनमिटर र पसाहा खोलाबाट २४ हजार ४२१.८९ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न सकिने उल्लेख छ । साथै दैनिक ३०० घनमिटरभन्दा बढी उत्खनन वा ढुवानी गरे मापदण्डविपरीत मानिने व्यवस्था रहेको छ ।