वीरगंजस्थित हरि खेतान बहुमुखी क्याम्पसमा पछिल्ला केही महिनादेखि देखिएको शैक्षिक अव्यवस्था, आन्तरिक विवाद तथा निजीकरणको आशंकाले शिक्षा क्षेत्रमा गम्भीर बहस सिर्जना गरेको छ ।
महिनौँदेखि पढाइ प्रभावित हुँदा हजारौँ विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको विद्यार्थी, अभिभावक तथा सरोकारवालाकाे गुनासो बढेपछि पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) हरि पन्तले वीरगंजको हरि खेतान बहुमुखी क्याम्पसमा चलिरहेको विवाद समाधानका लागि छानबिन समिति गठन गर्न सरकारसंग माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद पन्तले विक्रम संवत २०३८ सालमा स्थापना भएको हरि खेतान बहुुमुखी क्याम्पस अहिले झडपस्थलमा परिणत भएको भन्दै चिन्ता व्यक्त गरे । करिब चार हजार विद्यार्थी तथा १५० बढी प्राध्यापक र कर्मचारी कार्यरत रहेको क्याम्पसमा दैनिकजसो हुने नाराजुलुस र झडपका कारण विद्यार्थीहरूको भविष्य अन्योलमा परेको उनले बताए ।
गुठी संस्थानको जग्गामा निर्माण गरिएको क्याम्पसमा निर्माण सामग्री उपलब्ध गराउन आर्थिक सहयोग गरेका केही दाता परिवारसँग सम्बन्धित व्यक्तिहरूले पटक–पटक क्याम्पसको मूल विधान संशोधन गर्दै आएको आरोप लगाए । यसले सामुदायिक क्याम्पस निजीकरणतर्फ उन्मुख भएको आभाष पैदा गरेको उनको भनाइ थियो ।
सांसद पन्तले केहि दिनअघि मात्रै क्याम्पसमा भएको झडपमा क्याम्पस प्रमुख नै दुव्र्यवहारमा परेको तथा केही कर्मचारी अझै प्रहरी हिरासतमा रहेको भन्दै केही कर्मचारीलाई सेवाबाट हटाइएको अवस्थासमेत रहेको बताए ।
सांसद पन्तले सरकारले यथाशीघ्र छानबिन समिति गठन गरी सामुदायिक क्याम्पसको मर्मअनुसारको विधान लागू गर्न तथा नियमित पठनपाठन सञ्चालन सुनिश्चित गर्न माग गरेका छन् ।