बाराको परवानीपुर गाउँपालिका–५ बहुवरीमा सडक ढलान निर्माण कार्यको भिडियो खिचिरहेका स्थानीय युवामाथि वडाध्यक्षले हातपात गरेको घटना सार्वजनिक भएको छ ।
स्थानीयका अनुसार बहुवरी क्षेत्रमा भइरहेको सडक ढलान निर्माण गुणस्तरहीन भएको आशंकामा केही युवाले भिडियो खिचिरहेका थिए । सोही क्रममा वडा नं. ५ का वडाध्यक्ष रामेश्वर प्रसाद साह कलवारले युवामाथि दुर्व्यवहार गर्दै हातपात गरेको आरोप लागेको हो । घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । स्थानीयवासीले सडक निर्माण कार्यको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
यस घटनाबारे वडाध्यक्ष कलवारले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । स्थानीय प्रशासन तथा सम्बन्धित निकायले घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने माग स्थानीयले गरेका छन् ।