पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुरमा मंगलबार राति झन्डै डेढ करोड रुपैयाँ बराबरका सुनचाँदीका गरगहना चोरी भएको छ ।
स्थानीय नन्दकिशोर पटेल, नन्दलाल पटेल, बिरजेश पटेल र राजकिशोर पटेलका घरबाट करिब २८ तोला सुन तथा डेढ किलोभन्दा बढी चाँदीका गरगहना चोरी भएको पीडित परिवारले जनाएको छ । घरमा प्लास्टरको काम भइरहेकाले चारै दाजुभाइका गहना एउटै स्थानमा राखिएको थियो । गहना राखिएको आलमारी भुइँतलामा रहेको र परिवारका सदस्य माथिल्लो तलामा सुतिरहेका थिए ।
पीडित नन्दकिशोर पटेलका अनुसार चोरहरूले चोरी गर्नु अघि कोठाको ढोका बाहिरबाट चुकुल लगाएका थिए । बिहान करिब ३ बजे उठेर बाहिर निस्कन खोज्दा ढोका बन्द रहेको थाहा पाएपछि आफूले भाइ नन्दलाल पटेललाई फोन गरेर बोलाएको र त्यसपछि ढोका खोल्दा गहना चोरी भएको खुलेको हो ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।
पीडित परिवारले चोरीमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।