बारामा आर्थिक कारोबार र घरजग्गा सम्बन्धी विवाद सार्वजनिक भएपछि व्यवसायी बिरेन्द्र साह कानु र आन्तरिक राजस्व कार्यालय वीरगंजमा कार्यरत नायब सुब्बा नैमुदिन अन्सारीबीच आरोप–प्रत्यारोप चुलिएको छ ।
दुवै पक्षले आ–आफ्नो दाबी सार्वजनिक गरेका छन् । कलैया उपमहानगरपालिका–३ भवानीपुर घर भई हाल सिमरामा “घरआगन स्वीट्स” सञ्चालन गर्दै आएका व्यवसायी बिरेन्द्र साह कानुले मंगलबार पत्रकार सम्मेलन गर्दै आफू आफ्नै मिल्ने साथीबाट ठगिएको दाबी गर्नुभएको हो ।
साहका अनुसार उनले अन्सारीसँग १७ लाख रुपैयाँ सापटी लिएका थिए र त्यसको मासिक ५१ हजार रुपैयाँ ब्याज नियमित रूपमा नगद बुझाउँदै आएका थिए । बैंकको कालोसूचीमा परेपछि आपसी सहमतिमा सिमरास्थित १० धुर जग्गामा बनेको दुईतले घर अन्सारीकी श्रीमती शब्नम खातुनको नाममा पास गरिएको उनले बताए ।
उनका अनुसार घरजग्गा पास गर्ने क्रममा आधारस्वरूप अन्सारीले ३५ लाख रुपैयाँको चेक, २५ लाख रुपैयाँको अर्को चेक तथा एउटा ब्ल्याङ्क चेक आफ्नो नियन्त्रणमा राखेका थिए । अहिले भने अन्सारीले घरजग्गा आफ्नो भएको दाबी गर्दै १ करोड ४३ लाख रुपैयाँ मागिरहेको साहको आरोप छ । पत्रकार सम्मेलनमा भावुक बनेका साहले आफू १७ लाख सापटी र बैंकको ७० लाख गरी कुल ८७ लाख रुपैयाँ तिर्न तयार रहेको बताउनुभयो । “मैले नलिएको पैसा कहाँबाट ल्याएर तिर्ने ? जसलाई आफ्नै मानेँ, उसैले मेरो घर खोज्यो,” उहाँले भन्नुभयो ।
साहले जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत सुलेमान अन्सारी र जिल्ला अदालत बारामा कार्यरत राजेश यादवले समेत आफूलाई दबाब र धम्की दिएको आरोप लगाउनुभएको छ । साथै इलाका प्रहरी कार्यालय सिमरामा आफूविरुद्ध झुट्टा मुद्दा दर्ता गरिएको उहाँको दाबी छ । यता, नैमुदिन अन्सारीले भने आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्नुभएको छ । उहाँले व्यवसायी साहले आफ्नो चरित्र हत्या गर्न खोजेको दाबी गर्दै चाँडै प्रमाणसहित पत्रकार सम्मेलन गर्ने बताउनुभएको छ ।
अन्सारीले आफू कानुनी प्रक्रियाअनुसार अघि बढिरहेको र वास्तविकता छिट्टै सार्वजनिक हुने दाबी गर्नुभएको छ ।