वर्षौँदेखि मधेस प्रदेशका विभिन्न जिल्लामा अतिक्रमणमा परेका ४४२ हेक्टर वन क्षेत्र गत आर्थिक वर्ष २०८१/८२ मा अतिक्रमणमुक्त गरिएको छ ।
मधेस प्रदेश वन निर्देशनालय जनकपुरधामका अनुसार थप अतिक्रमित वन क्षेत्र खाली गर्न तथा गराउन सम्बन्धित वन कार्यालयले सूचना जारी गरेका छन् ।
निर्देशनालयबाट प्राप्त विवरणअनुसार धनुषामा ३० हेक्टर, सर्लाहीमा १७५ हेक्टर, सप्तरीमा १११ हेक्टर, बारामा ५४ हेक्टर, पर्सामा ४५ हेक्टर, रौतहटमा १२ हेक्टर, सिरहामा १० हेक्टर तथा महोत्तरीमा तीन हेक्टर वन क्षेत्रको जमिन फिर्ता लिइएको छ ।
अतिक्रमित वन क्षेत्रमा खेतीपाती, गोठ निर्माण, होटल तथा पसल सञ्चालन तथा घर निर्माण गरी बसोबाससमेत भइरहेको थियो ।
निर्देशनालयका निर्देशक जग्गनाथप्रसाद जयसवालले मधेस प्रदेशका आठवटै जिल्लामा अझै पनि १६ हजार ५९९ हेक्टर जमिन अतिक्रमणमा रहेको जानकारी दिए । उनका अनुसार अतिक्रमित वन क्षेत्र खाली गर्ने प्रक्रिया सुरु गरिएको छ र त्यसका लागि सबै पक्षको सहयोग आवश्यक छ ।
उनले लामो समयदेखि अतिक्रमित वन क्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकारले पहल गरिरहेको उल्लेख गर्दै प्रशासनिक संयन्त्रले मात्र समाधान गर्न नसक्ने भएकाले राजनीतिक तथा स्थानीय तहसँग समन्वय आवश्यक रहेको बताए ।
हाल नेपालमा करिब ४५ प्रतिशत भू–भाग वनले ढाकेको भए पनि मधेस प्रदेशमा मात्र ३.७२ प्रतिशत भू–भाग वन क्षेत्रले ओगटेको छ । प्रदेशभरि दुई लाख दुई हजार २०२ हेक्टर वन क्षेत्र रहे पनि १३६ स्थानीय तहमध्ये ८९ वटामा वन क्षेत्र नै नरहेको तथ्यांक छ ।
कुल वन क्षेत्रमध्ये करिब ८ प्रतिशत वन क्षेत्र अतिक्रमणमा परेको निर्देशनालयले जनाएको छ ।
भिडियाे सामाग्री