नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बारासहित मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूले नम्बर प्लेट नराखी तथा अस्पष्ट नम्बर प्लेट नभएका सवारी साधनविरुद्ध विशेष अभियान सञ्चालन गरेका छन् ।
सवारी दुर्घटना न्यूनीकरण तथा सवारी साधनको सहज पहिचानलाई लक्ष्य बनाउँदै विभिन्न स्थानमा विशेष चेकजाँच गरिएको ट्राफिक प्रहरीले जनाएको छ । चेकजाँचका क्रममा नम्बर प्लेट नभएका, मेटिएका तथा स्पष्ट रूपमा नदेखिने नम्बर प्लेट भएका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिई नम्बर प्लेट स्पष्ट रूपमा राख्न निर्देशन दिइएको छ ।
प्रहरीका अनुसार अस्पष्ट नम्बर प्लेट भएका सवारी साधनका कारण दुर्घटना तथा आपराधिक गतिविधिमा संलग्न सवारीको पहिचान गर्न कठिन हुने भएकाले यस्तो अभियानलाई प्रभावकारी रूपमा अघि बढाइएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले सबै सवारी चालकलाई अनिवार्य रूपमा स्पष्ट नम्बर प्लेट राख्न, ट्राफिक नियमको पालना गर्न तथा सुरक्षित यात्रामा सहयोग गर्न अनुरोध गरेको छ ।