ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने ठेकेदारका रूपमा देशभर चर्चित पप्पु कन्ट्रक्सन प्रालिका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जि जारी भएको छ ।
विगोसम्बन्धी मुद्दामा दोषी ठहर भई दुई वर्ष कैद सजाय तोकिएपछि पर्सा जिल्ला अदालतले उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन प्रहरीको नाममा पक्राउ पुर्जी जारी गरेको हो । वीरगंज महानगरपालिका–१४ स्थित प्रमोद निर्माण सेवाका सञ्चालक मनोज पटेलले दायर गरेको विगोसम्बन्धी मुद्दामा दोषी ठहर भएका रौनियारलाई पक्राउ गर्न अदालतले गत वैशाख ३१ गते आदेश जारी गरेको थियो । तर आदेश जारी भएको सात दिन बितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय पर्साले रौनियारलाई पक्राउ गर्न नसकेको छ ।
प्रमोद निर्माण सेवाका सञ्चालक मनोज पटेलले अदालतको आदेश कार्यान्वयनमा प्रहरीले आवश्यक तत्परता नदेखाएको गुनासो गरेका छन् । रौनियार राजनीतिक तथा आर्थिक रूपमा प्रभाव पार्न सक्ने व्यक्ति भएकाले प्रहरीमाथि दबाब परेको हुन सक्ने उनले बताएका छन् ।
यता यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले अदालतको आदेश कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए । उनका अनुसार रौनियारलाई पक्राउ गर्न फैसला कार्यान्वयन टोली परिचालन गरिएको छ भने फरार रहेका उनलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएकाे बताए ।
सघन सहरी विकास कार्यालयअन्तर्गत वीरगंज महानगरपालिकामा सडक तथा नाला निर्माणका लागि स्वच्छन्द, पप्पु र युनाइटेड जेभीले ठेक्का लिएका थिए । सोही योजनाअन्तर्गत प्रमोद निर्माण सेवाबाट गिट्टी, बालुवा लगायत निर्माण सामग्री खरिद गरे पनि भुक्तानी नगरेको भन्दै मनोज पटेलले अदालतमा विगोसम्बन्धी मुद्दा दायर गरेका थिए ।
उक्त मुद्दामा सुनुवाइ गर्दै पर्सा जिल्ला अदालतले २०८० कात्तिक २० गते रौनियारलाई १ करोड १५ लाख ६५ हजार रुपैयाँ भुक्तानी गर्न आदेश दिएको थियो । अदालतले तोकिएको रकम भुक्तानी नगरेमा दुई वर्ष कैद सजाय हुने फैसला समेत सुनाएको थियो ।
जिल्ला अदालतको फैसलाविरुद्ध रौनियारले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा पुनरावेदन गरेका थिए । तर उच्च अदालतले पुनरावेदन खारेज गर्दै जिल्ला अदालतको फैसला सदर गरेको थियो ।