बारा जिल्लाको निजगढ नगरपालिका–४ स्थित बकैया खोलाबाट अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरी ल्याइँदै गरेका दुईवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिई डिभिजन वन कार्यालय, बारामा बुझाएको छ ।
बुधबार बिहान करिब ५ बजे ग्राभेल लोड गरी आएका प्रदेश २–०३–००१ त ६२९ र प्रदेश २–०३–००१ त ६४२१ नम्बरका दुईवटा ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
स्थानीय कछडिया टोलबाट दुई दर्जनभन्दा बढी ट्याक्टर खोलातर्फ गएको सूचनापछि इलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायब निरीक्षक आसमहमद अन्सारी तथा तामागढी सबडिभिजन वन कार्यालय निजगढका प्रमुख राजकिशोरप्रसाद उपाध्याय नेतृत्वको टोलीले संयुक्त रूपमा कारबाही गरेको हो ।
सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस निजगढको टोली पनि घटनास्थलमा परिचालन गरिएको थियो ।
स्थानीय स्रोतका अनुसार यसअघि अवैध नदीजन्य पदार्थ बोकेका ट्याक्टर नियन्त्रणमा लिएर नगरपालिकामा बुझाउँदा प्रतिट्याक्टर १० हजार रुपैयाँ जरिवाना तिराएर छाड्ने गरिएको थियो। तर खोला ठेक्का नलागेको अवस्थामा समेत अवैध उत्खनन बढेपछि सुरक्षा निकायले कडाइका साथ नियन्त्रण अभियान सञ्चालन गरेको जनाएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकोमध्ये एउटा ट्याक्टर बस्तीमा लुकाउन लगिएको थियो । तर प्रहरी टोलीले बस्तीबाटै पुनः नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयमा बुझाएको हो ।
स्थानीयवासीका अनुसार अहिले ढुङ्गा, बालुवा र ग्राभेल चोरी गरी बिक्री गर्ने गिरोह सक्रिय बन्दै गएको छ । बकैया खोलामा भइरहेको जथाभावी उत्खननका कारण वन क्षेत्रको जमिन कटान, वातावरणीय असन्तुलन तथा चुरे क्षेत्र जोखिममा परेको स्थानीयहरूको गुनासो छ । यसबाट आसपासका बस्ती तथा भौतिक संरचनासमेत प्रभावित बन्दै गएका छन् ।