डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुधको परिमाणमा व्यापक कटौती गर्दै उपभोक्तामाथि ठगी गरेको आरोप लागेको छ ।
५ सय मिलिलिटर उल्लेख गरिएको डुमरवाना ब्रान्डको दुधको प्याकेटमा मापदण्डभन्दा कम अर्थात् ३ सय ६७ मिलिलिटर मात्र दुध भेटिएपछि संस्थाको लापरबाही पुनः सार्वजनिक भएको हो ।
बिक्रीका लागि राखिएको दुधको प्याकेट जोख्दा १ सय ३३ मिलिलिटर कम परिमाण फेला परेको जनाइएको छ । यस घटनाले उपभोक्ता अधिकारमाथि गम्भीर खेलबाड भएको भन्दै स्थानीय उपभोक्ताले आक्रोश व्यक्त गरेका छन् ।
उक्त ब्रान्ड यसअघि पनि यस्तै विवादमा परेको थियो । दुई वर्षअघि अर्थात् २०८० साल वैशाख ३० गते पनि आधा लिटरको प्याकेटमा कम परिमाणको दुध भेटिएको विषय सार्वजनिक भएको थियो ।
विगतका कमजोरी सुधार गर्नुको साटो उपभोक्तालाई पुनः झुक्याउने काम गरिएको भन्दै सम्बन्धित निकायले तत्काल छानबिन गरी कानुनी कारबाही अघि बढाउनुपर्ने माग उठेको छ ।
उपभोक्ताले यस्तो गतिविधिले सर्वसाधारणको विश्वासमाथि गम्भीर आघात पुगेको बताएका छन् ।