जिल्ला प्रहरी कार्यालय पर्सा ले मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–१ निवासी २४ वर्षीय प्रेमकुमार पटेल रहेका छन् । प्रहरीका अनुसार वीरगंज महानगरपालिका–१२ मुर्ली निवासी दिपेन्द्र कुशवाहाको नाममा दर्ता रहेको म.प्र.०३–०३३ प ८५१७ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा पटेललाई पक्राउ गरिएको हो ।
वीरगंज–१२ स्थित दिलबन्धु पेट्रोल पम्पको पार्किङमा राखिएको मोटरसाइकल चोरी गरेर फरार हुने प्रयास गरिरहेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी हरिबहादुर वस्नेत ले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।