बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर २ स्थित बारैनिया बजारको उत्तरतर्फ जाने सडकलाई ३० फिट चौडा बनाउने कार्य तीव्र रूपमा अघि बढाइएको छ ।
सडक विस्तार अभियानअन्तर्गत गुरुयोजना क्षेत्रभित्र परेका स्थानीय घरटहरा तथा अवैध संरचनाहरू डोजर प्रयोग गरी हटाइएको गाउँपालिकाले जनाएको छ ।
प्रदेश सरकारको सशर्त अनुदानअन्तर्गत प्राप्त २५ लाख रुपैयाँको लगानी तथा गाउँपालिकाको प्राविधिक र प्रशासनिक सहकार्यमा उक्त सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेको जनाइएको छ ।
सडक विस्तार तथा संरचना हटाउने कार्यको निरीक्षण र व्यवस्थापनका लागि स्थानीय जनप्रतिनिधि तथा सुरक्षा निकायको उपस्थिति रहेको थियो । कार्यस्थलमा गाउँपालिका अध्यक्ष जुल्फकार अली भुट्टो, वडा नम्बर २ का अध्यक्ष मनोज यादव तथा वडा नम्बर १ का अध्यक्ष सन्तोष पटेल लगायतको सहभागिता रहेको थियो ।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन तथा कुनै अप्रिय घटना हुन नदिन इलाका प्रहरी कार्यालय गण्डक बाट विशेष प्रहरी टोली परिचालन गरिएको थियो । साथै छतवा र बलिरामपुर क्षेत्रका प्रशासनिक प्रतिनिधिहरूले समेत अभियानमा सहयोग गरेका थिए । स्थानीयवासीहरूको प्रत्यक्ष उपस्थिति र सहकार्यबीच सडक क्षेत्र अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउने कार्य सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ ।
वर्षौंदेखि साँघुरो सडकका कारण समस्या भोग्दै आएका स्थानीयवासीहरू सडक विस्तारबाट उत्साहित देखिएका छन् । स्थानीयका अनुसार सडक विस्तार सम्पन्न भएपछि आवतजावत सहज हुने तथा बारैनिया बजार क्षेत्रको आर्थिक र व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।