बारा जिल्लाको सदरमुकाम कलैयामा अव्यवस्थित पार्किङ, सडक अतिक्रमण तथा जथाभावी सञ्चालन हुँदै आएका इ–रिक्सा व्यवस्थापनका लागि बुधबार संयुक्त अनुगमन गरिएको छ ।
कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साह र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राको नेतृत्वमा गरिएको संयुक्त टोलीले बजार क्षेत्र, मुख्य सडक, चोक तथा अत्यधिक भीडभाड हुने स्थानहरूको स्थलगत निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा सडक पेटी र मुख्य सडक नै ओगटेर राखिएका पसल, ठेला तथा अव्यवस्थित पार्किङका कारण सर्वसाधारणको आवागमनमा कठिनाइ भएको पाइएको टोलीले जनाएको छ । विशेषगरी जथाभावी पार्किङ गरिएका सवारी साधन र सडक छेउमै सञ्चालन गरिएका अस्थायी व्यापारिक संरचनाले ट्राफिक व्यवस्थापन थप जटिल बनेको उल्लेख गरिएको छ ।
टोलीले दर्ताविहीन रूपमा सञ्चालन भइरहेका इ–रिक्सा तत्काल सम्बन्धित निकायमा दर्ता प्रक्रियामा ल्याउन निर्देशन दिएको छ । साथै सवारी साधनलाई सडकमा अव्यवस्थित रूपमा नराखी तोकिएको स्थानमा मात्रै पार्किङ गर्न चेतावनीसमेत दिइएको छ ।
नगर प्रमुख विनोद साहले कलैया नगर क्षेत्रलाई व्यवस्थित, सफा र दुर्घटनारहित बनाउन स्थानीय तह प्रतिबद्ध रहेको बताउँदै सबै पक्षलाई नियम पालनामा सहयोग गर्न आग्रह गर्नुभएको छ । अनुगमन टोलीले बजार क्षेत्रमा बढ्दो सवारी चाप, अतिक्रमण र अव्यवस्थित व्यवस्थापनका कारण नागरिकले दैनिक समस्या भोगिरहेको भन्दै आगामी दिनमा नियमित अनुगमन, सचेतनामूलक अभियान तथा आवश्यक परे कानुनी कारबाहीसमेत अघि बढाइने जनाएको छ ।
अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुवँर, सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धानका उप–निर्देशक सरोज निरौला, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दीपक केसी तथा अन्य सरोकारवाला निकाय र जेन–जी समूहका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।