नेपाल पत्रकार महासंघ पर्सा शाखाले निवर्तमान अध्यक्ष अनुप तिवारीलाई शाखाको सम्पूर्ण निर्णयपुस्तिका, हरहिसाब तथा आधिकारिक कागजात ३ दिनभित्र बुझाउन अल्टिमेटम दिएको छ ।
समयसीमाभित्र विवरण उपलब्ध नगराए कानुनी तथा संस्थागत कारबाही प्रक्रिया अघि बढाइने महासँघले पत्र पठाउँदै चेतावनी समेत दिएको छ । पत्रकार महासंघ वर्तमान समितिका अनुसार तिवारीले नेतृत्व सम्हालेको कार्यकालपछि हालसम्म शाखाको कुनै पनि माइन्युट, आर्थिक विवरण तथा चल–अचल सम्पत्तिको विवरण हस्तान्तरण गरेको छैन् । ५ सय १८ दिन बितिसक्दा समेत आवश्यक कागजात नबुझाइएको भन्दै शाखाले औपचारिक रूपमा पत्राचार गरेको हो ।
शाखाका सचिव विजयकुमार महतोद्वारा जारी पत्रमा तत्कालीन कार्यसमितिले पटक–पटक आग्रह गर्दा पनि आवश्यक दस्तावेज उपलब्ध नगराइएको उल्लेख गरेको छ । आवश्यक विवरण नबुझाएकाले संस्थाको दैनिक प्रशासनिक कार्य सञ्चालनमा समस्या उत्पन्न भएको महासंघले जनाएको छ । महासंघका अनुसार मिति २०८१ पुस ३ गते बसेको पहिलो बैठकले तत्कालीन कोषाध्यक्ष सञ्जीव कुमार मिश्रलाई सम्पूर्ण आर्थिक विवरण तथा सम्पत्तिको लगत ३० दिनभित्र पेश गर्ने जिम्मेवारी दिएको थियाे तर उक्त निर्देशन हालसम्म पालना समेत नभएको महासँघले जनाएकाे छ ।
पत्रमा भनिएको छ, “लामो समयदेखि आग्रह गर्दा पनि माइन्युट, आर्थिक विवरण र अन्य दस्तावेज बुझाउन आनाकानी भइरहेको छ, जसका कारण संस्थागत कार्य प्रभावित भएको छ ।”
यसैबीच, महासंघले हाल उठिरहेको सदस्यता शुद्धीकरण अभियानका लागि पनि विगतका निर्णय र प्रक्रियाबारे स्पष्ट दस्तावेज आवश्यक रहेको जनाएको छ । तिवारीको नेतृत्वमा वितरण गरिएको सदस्यता प्रक्रियाको वैधानिकता र पारदर्शिताबारे अध्ययन गर्न माइन्युट तथा अभिलेख आवश्यक रहेको महासंघको भनाइ छ ।
अनुप तिवारीले दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिँदा पराजित भएका थिए । पराजयपछि उनले सदस्यता शुद्धीकरणको माग उठाउँदै संघर्ष समिति गठन गरेर आफु संयाेजक भएका छन् । संघर्ष समितिले हालको नेतृत्वलाई ज्ञापनपत्र बुझाउँदै सदस्यता शुद्धीकरण प्रक्रिया अघि बढाउन दबाब दिइरहेका छन् ।
सोही समयावधिमा महासंघले पूर्व नेतृत्वसँग कागजात माग गर्दै प्रक्रिया अघि बढाएको हो । महासंघमा तीन दिनभित्र आवश्यक कागजात नबुझाए नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ ।
पुर्व अध्यक्ष तिवारीलाई काटेकाे पत्र प्रदेश समिति र केन्द्रिय समितिलाई समेत बाेधार्थ पठाएकाे जनाएकाे छ ।