वीरगंजस्थित औषधि व्यवस्था विभाग, वीरगंज शाखा कार्यालय ले वैशाख महिनामा गरेको अनुगमनका क्रममा १६ वटा औषधि फर्ममा सिलबन्दी गरेको छ भने एक केमिकल उद्योगलाई जरिवाना गरिएको छ ।
शाखा प्रमुख शम्भु साहका अनुसार वैशाख महिनाभर सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली र पर्सा जिल्लाका उद्योग तथा औषधि पसलसहित ९५ वटा फर्मको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा २९ वटा औषधि पसलबाट आवश्यक कागजात तथा सूचनासमेत माग गरिएको उनले बताए । निरीक्षणका क्रममा बन्द अवस्थामा भेटिएका पसल सञ्चालकलाई हाजिर हुन सूचना टाँस गरिएको पनि विभागले जनाएको छ ।
यसैबीच, बिनाइजाजत औषधि उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा दुई कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ । पर्सा जिल्ला अदालतमा दायर गरिएका मुद्दा शान्ति केमिकल एण्ड प्याकेजिङ इन्डष्ट्रिज, वीरगन्ज–१५ भेडियाही तथा वेभ केमिकल इन्डष्ट्रिज, वीरगंज–२४ रमगढवाविरुद्ध रहेका छन् ।
त्यसैगरी औषधिको अनुचित प्रयोग तथा दुरुपयोग गरेको अभियोगमा चितवनको भरतपुर महानगरपालिका निवासी रोशन कुमालविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिएको शाखा प्रमुख साहले जानकारी दिए । उनका अनुसार कानुनी प्रक्रिया अघि बढाइएको छ ।