बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरस्थित श्री भोला माध्यमिक विद्यालय मा टेक ल्याब एण्ड मेकर स्पेस भवनको उद्घाटन गरिएको छ ।
विद्यालय परिसरमा जनजागरण युवा क्लबद्वारा बिहीबार आयोजित कार्यक्रममा उक्त भवनको उद्घाटन प्रमुख अतिथि कोईकाका प्रोग्राम म्यानेजर डङ्गग्यु किम ले गरेका हुन् । सेभ द चिल्ड्रेन र कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोईका) को आर्थिक सहयोग, जनजागरण युवा क्लब को साझेदारी तथा महागढीमाई नगरपालिकाको समन्वयमा सञ्चालित ‘इन्सपायर्ड परियोजना’ अन्तर्गत विद्यालयमा उक्त भवन निर्माण गरिएको हो ।
परियोजना अन्तर्गत इडि टेक ल्याब २२ लाख ५० हजार ५६१ रुपैयाँ ५९ पैसा तथा मेकर स्पेस ९ लाख ४९ हजार ४१० रुपैयाँ ८४ पैसाको लागतमा निर्माण गरिएको जनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डङ्गग्यु किमले बदलिँदो समयसँगै प्राविधिक शिक्षाको महत्त्व अझ बढ्दै गएको बताए । उनले विद्यालयमा स्थापना गरिएको मेकर स्पेस र टेक ल्याबको अधिकतम उपयोग गर्दै विद्यार्थीहरूले आफ्नो सीप, सिर्जनशीलता र क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । साथै, आगामी दिनमा पनि विद्यालयको शैक्षिक तथा प्राविधिक विकासका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा महागढीमाई नगरपालिकाकी उपप्रमुख तारा देवी कानु, वडा नं. १० का वडाध्यक्ष चन्दन कुमार, जनजागरण युवा क्लबका कार्यवाहक अध्यक्ष राजदेव साह, प्रोग्राम डेभलपमेन्ट, क्वालिटी एण्ड इन्फ्लुएन्सका डाइरेक्टर आयुष जोशी लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी कार्यक्रममा कोईकाका सोरा बेक, सोवान हान, सेभ द चिल्ड्रेनका कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक भोला कुशवाहा ले गरेका थिए भने सञ्चालन कक्षा–१० मा अध्ययनरत विद्यार्थी रिया शर्मा र ओमशंकर पण्डितले गरेका थिए ।