चितवन प्रहरी ले हत्या आरोपमा बाराका एक व्यक्तिलाई सात वर्षपछि पक्राउ गरेको छ ।
२०७६ साल चैत २३ गते खैरहनी नगरपालिका–९ स्थित नेपाल ग्यास उद्योग गण्डकीको कम्पाउन्डभित्र मजदुर बस्ने कोठामा एक जनाको शव फेला परेको थियो । प्रहरीका अनुसार मृतक बाराको साविक फेटा गाविस–४ हाल फेटा गाउँपालिका–३ निवासी ४६ वर्षीय सखिचन महरा रहेका थिए । घटनापछि गरिएको सूक्ष्म अनुसन्धानबाट बाराकै साविक बतरा गाविस–६ हाल फेटा गाउँपालिका–४ निवासी तत्कालीन ३० वर्षीय पुनदेव भन्ने पञ्चदेव महराले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
घटना सार्वजनिक भएपछि चितवन जिल्ला अदालत बाट २०७६ चैत २५ गते पक्राउ अनुमति लिएर प्रहरीले निरन्तर खोजतलास गर्दै आएको थियो ।
घटनाको सात वर्षपछि फेटा गाउँपालिका–१ त्रिवेणी क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी र इलाका प्रहरी कार्यालय खैरहनी बाट खटिएको संयुक्त प्रहरी टोलीले जेठ ५ गते पुनदेव भन्ने पञ्चदेव महरालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका महरालाई इलाका प्रहरी कार्यालय खैरहनीको न्यायिक हिरासतमा राखिएको छ । साथै, चितवन जिल्ला अदालतबाट म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।