बाराको जीतपुरसिमरा उपमहानगरपालिका ले सम्पत्ति कर संकलनलाई व्यवस्थित तथा प्रभावकारी बनाउन सबै वडा कार्यालयलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले जारी गरेको पत्रमार्फत “सम्पत्ति कर व्यवस्थापन कार्यविधि, २०८३” कार्यान्वयनमा ल्याइएको जानकारी गराइएको हो ।
उपमहानगरपालिकाका अनुसार २०८३ वैशाख ११ गते बसेको कार्यपालिका बैठकले उक्त कार्यविधि स्वीकृत गरेको थियो । सोही कार्यविधिअनुसार अब करदाताले मालपोत कर (भूमि कर) बुझाउनुअघि निर्धारित निवेदन फाराम अनिवार्य रूपमा भर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस व्यवस्थाले सम्पत्ति विवरणलाई व्यवस्थित बनाउने, कर प्रशासनलाई थप प्रभावकारी बनाउने तथा करदातालाई सहज सेवा प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
साथै, सम्बन्धित कार्यविधि उपमहानगरपालिकाको वेबसाइटबाट डाउनलोड गर्न सकिने जानकारी राजस्व प्रशासन शाखा प्रमुख रामप्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।