सप्तरी | सडक डिभिजन कार्यालय, लहानले सप्तरीका तीनवटा सडक निर्माणको ठेक्का रद्द गरेको छ । राजविराज–छिन्नमस्ता, राजविराज–रूपनी तथा राजविराज–हनुमाननगर–भारदह सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीसँगको सम्झौता अन्त्य गरिएको हो ।
कार्यालयका अनुसार ठेकेदार कम्पनीले सम्झौताअनुसार निर्धारित समयमा काम सम्पन्न नगरेको तथा पटक–पटक ताकेता गर्दा पनि अटेरी र लापरबाही गरेको कारण भौतिक पूर्वाधार मन्त्रालयले सूचना जारी गर्दै ठेक्का सम्झौता रद्द गरेको हो ।
उक्त सडकहरूको स्तरोन्नति तथा नाला निर्माणका लागि साह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालि, शम्भुनाथले ठेक्का लिएको थियो । तर निर्माण कार्यमा ढिलासुस्ती हुँदा स्थानीयवासीले लामो समयदेखि सास्ती व्यहोर्दै आएका थिए । त्यसको विरोधमा स्थानीयहरूले पटक–पटक सडक अवरुद्ध गर्दै चक्काजामसमेत गरेका थिए ।
ठेक्का सम्झौतामा उल्लेखित प्रावधान तथा सार्वजनिक खरिद ऐन, २०६३ (संशोधनसहित) को दफा ५९ (२) को खण्ड (क), दफा ५९ (७) र दफा ५९ (८) अनुसार डिभिजन कार्यालयको २०८३ जेठ ७ गतेको निर्णयअनुसार ठेक्का अन्त्य गरिएको जनाइएको छ ।
तीनवटै ठेक्का रद्द भएपछि निर्माण कार्य तत्कालका लागि अलपत्र परेको छ । यद्यपि, राजविराज नगरपालिकाका पूर्वनगरप्रमुख शैलेश चौधरीले ठेक्का लिएर ढिलासुस्ती गर्ने तथा काम नगर्ने ठेकेदारहरू अब सचेत भई सम्झौताअनुसार समयमै काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले अधुरो सडक निर्माण कार्य पुनः चाँडो सुरु गर्न सम्बन्धित निकायसँग आग्रहसमेत गर्नुभएको छ ।