राजविराज को हनुमान मन्दिरदेखि चनौरा पडरियासम्मको अलपत्र हुलाकी सडक निर्माण कार्य सम्पन्न गर्न दबाब दिँदै स्थानीयवासीले थालेको सडक अवरोध शनिबार चौथो दिन पनि जारी राखेका छन् ।
तीन वर्षदेखि भत्काएर छोडिएको सडकका कारण जनजीवन कष्टकर बनेपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् । स्थानीय पडरिया निवासी निरञ्जन झाका अनुसार राजविराज नगरपालिका–१, ३ र ८ अन्तर्गत पर्ने उक्त सडक विगतमा बजेट अभाव देखाउँदै अधुरै छोडिएको थियो । हाल पर्याप्त बजेट हुँदाहुँदै पनि सम्बन्धित मन्त्रालय र निकायले निर्माण कार्यप्रति बेवास्ता गरेको उनले बताए ।
वर्षायाममा सडक नदीजस्तै बन्ने र सुख्खा मौसममा अत्यधिक धुलो उड्ने समस्याले स्थानीयवासी, बटुवा तथा विद्यार्थीहरू प्रभावित भएका छन् । धुलो र हिलोका कारण स्वास्थ्य समस्या समेत बढ्दै गएको स्थानीयको गुनासो छ ।
आन्दोलनकारीहरूले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकार र जनप्रतिनिधिबाट कुनै ठोस पहल नभएको बताएका छन् । प्रत्यक्ष जनमतबाट निर्वाचित तीनै तहका जनप्रतिनिधि जनताको समस्याप्रति मौन बसेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।
स्थानीयवासीले सडक निर्माण कार्य तत्काल सुरु नगरे आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिएका छन् । गत बुधबारदेखि आन्दोलनकारीहरूले हुलाकी राजमार्गअन्तर्गत उक्त सडक खण्डमा ढाट तेर्साएर आवतजावत बन्द गर्दै आएका छन् ।