नयाँ शैक्षिक सत्र सुरु भएसँगै वीरगंज महानगरपालिका का निजी विद्यालयहरूले विभिन्न शीर्षकमा चर्को शुल्क असुल्न थालेपछि अभिभावकहरू मारमा परेका छन् ।
सरकारले अनावश्यक शुल्क नलिन तथा स्थानीय तहलाई नियमित अनुगमन गरी कारबाही गर्न निर्देशन दिए पनि स्थानीय सरकार मौन बसेको भन्दै अभिभावकहरूले गुनासो गरेका छन् ।
अभिभावकहरूका अनुसार निजी विद्यालयहरूले वार्षिक शुल्कसँगै प्रविधि शुल्क, क्रियाकलाप शुल्क, व्यवस्थापन शुल्क, परीक्षा शुल्क, स्मार्ट क्लास शुल्क, सुरक्षा शुल्कलगायतका शीर्षकमा अतिरिक्त रकम असुलिरहेका छन् । कतिपय विद्यालयले एकैपटक लाखौँ रुपैयाँसम्मको शुल्क माग गरेको आरोप समेत छ ।
वीरगंजका अभिभावक दीपक कुशवाहाले विद्यालयबाट आउने शुल्कको बिलले परिवारको आर्थिक अवस्था नै धरापमा परेको बताए । “बच्चा पढाउने कि घर चलाउने भन्ने चिन्ता बढेको छ,” उनले भने । उनका अनुसार विद्यालय प्रशासनसँग शुल्कबारे स्पष्ट जानकारी लिन खोज्दा पनि प्राचार्य वा सञ्चालकहरूले चित्तबुझ्दो जवाफ नदिने र अभिभावकलाई अलमल्याउने गरेका छन् ।
चिल्ड्रेन वल्र्ड स्कूलमा छोरी अध्ययनरत कुशवाहाले विद्यालयले बोलाएर पनि घण्टौँ कुराएर अन्त्यमा सम्बन्धित व्यक्ति बाहिर गएको भन्दै भेट नदिने गरेको गुनासो गरे । “पहिला आउनुस् भनेर बोलाउँछन्, पछि भेट्नै मान्दैनन्,” उनले भने ।
नेपाल सरकारको शिक्षासम्बन्धी कानुन अनुसार विद्यालयले शुल्क वृद्धि गर्दा अभिभावकसँग छलफल गरी सहमतिका आधारमा मात्र शुल्क निर्धारण गर्नुपर्ने व्यवस्था छ । साथै, स्थानीय तहलाई विद्यालयको शुल्क संरचनाबारे नियमित अनुगमन गरी नियमविपरीत शुल्क लिने विद्यालयमाथि कारबाही गर्न निर्देशन दिइएको छ ।
तर वीरगञ्ज महानगरपालिका सहित पर्साका अधिकांश स्थानीय तहले प्रभावकारी अनुगमन नगरेको आरोप अभिभावकहरूले लगाएका छन् । सरकारी निर्देशन कार्यान्वयन नहुँदा निजी विद्यालयहरू मनपरी ढङ्गले शुल्क असुल्न उत्साहित भएका उनीहरूको भनाइ छ ।
यस विषयमा वीरगंज महानगरपालिकाको शैक्षिक महाशाखा प्रमुख आनन्द लामिछानेले शुल्कबारे गुनासो बढेको स्वीकार गर्दै लिखित उजुरी प्राप्त भए आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने बताएका छन् ।