सप्तरीका दुई स्थानीय तहका दुई हजारभन्दा बढी महिला घरेलु उद्यम तथा सीपमूलक व्यवसायमा आबद्ध भएर आत्मनिर्भर बन्न अग्रसर देखिएका छन् ।
जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका र छिन्नमस्ता गाउँपालिका का करिब दुई हजार पाँच सय महिला कृषि, घरेलु उद्यम तथा सीपमूलक व्यवसायमा संलग्न भई आयआर्जन र स्वरोजगारतर्फ उन्मुख भएका हुन् ।
कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को साझेदारीमा सप्रोस नेपाल ले सञ्चालन गरेको ग्रामीण महिला आर्थिक सशक्तीकरण कार्यक्रमअन्तर्गत महिलाको आर्थिक अवस्थामा सुधार हुनुका साथै उनीहरू स्वरोजगारमुखी गतिविधिमा सक्रिय भएको पाइएको छ । शनिबार सञ्चारकर्मीहरूको टोलीले कार्यक्रमको स्थलगत अनुगमन गरेको थियो ।
सप्रोस नेपालका टिम लिडर तथा कृषि विज्ञ चन्दन केसीका अनुसार दुवै पालिकाका दुई हजार महिला र दुई सय पुरुष गरी कुल दुई हजार सात सय जनालाई विभिन्न समूहमा आबद्ध गरी कृषि, घरेलु उद्यम तथा सीपमूलक व्यवसायमा संलग्न गराइएको छ ।
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले पुष्पखेती तालिम, तरकारी खेती प्रवर्द्धन, प्राविधिक सहयोग, माटोका ग्लास तथा भाँडा बनाउने सीप विकास तालिम, व्यावसायिक साक्षरता, क्षमता अभिवृद्धि तथा लैंगिक कार्य सिकाइ पद्धतिसम्बन्धी व्यवहारिक तालिम प्रदान गरिएको केसीले जानकारी दिए ।
“२ सय २५ जना अति विपन्न भूमिहीनलाई व्यवसाय सञ्चालनमा सहयोग गरिएको छ भने १ हजार ५ सय जनालाई व्यावसायिक खेतीतर्फ उन्मुख गराउने लक्ष्य राखिएको छ,” उहाँले भन्नुभयो ।
तालिम लिएपछि घरमै माटोका कप बनाएर बिक्री गर्दै आएकी छिन्नमस्ता गाउँपालिका–३ की २० वर्षीया आरती पंडितले मासिक ५० हजार रुपैयाँसम्म आम्दानी भइरहेको बताइन्। यस्तै, सोही गाउँपालिका–५ की ३७ वर्षीया जसो कुमारी महतोले तरकारी खेतीमार्फत पाँच जनाको परिवार धानिरहेको सुनाइन्।
तिलाठी कोईलाडी गाउँपालिका–३ की आशा देवी रायले तरकारी खेतीबाट मासिक १५ हजार रुपैयाँ आम्दानी भइरहेको बताइन्। त्यस्तै, वडा नम्बर ५ की कोशीला देवीले सीप सिकेपछि सिलाइकटाइ व्यवसायमार्फत स्वरोजगार बनेको अनुभव सुनाइन् ।
सप्रोस नेपालकी सप्तरी जिल्ला संयोजक बिमला न्यौपानेका अनुसार छिन्नमस्ता गाउँपालिकाको वडा नम्बर ३ र ५ मा ४१ वटा तथा तिलाठी कोईलाडी गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा ४९ वटा गरी कुल ९० वटा महिला समूह गठन गरी कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रमअन्तर्गत ११ जना महिलालाई माटोका भाँडा तथा ग्लास बनाउने मेसिनसमेत सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।
सप्रोस नेपालका व्यवसाय विकास सहजकर्ता रुपेश सदायले ९० वटै महिला समूहलाई तालिम, प्राविधिक सहयोग तथा आर्थिक सहयोग उपलब्ध गराएर आत्मनिर्भर बनाउने प्रयास भइरहेको बताउनुभयो ।
दुवै पालिकामा गरिएको संयुक्त अनुगमनमा सप्रोस नेपालकी पोषण अधिकृत नविता चौधरी, तिलाठी कोईलाडी गाउँपालिकाका कार्यक्रम स्रोत व्यक्ति राजेश झा, सञ्चारकर्मी नवीन गुप्ता, चन्दन यादव, प्रवेश मिश्रलगायत सप्रोस नेपालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।