गएराति आएको तीव्र हावाहुरीका कारण रौतहटको चन्द्रपुर नगरपालिका–३ स्थित गैंडाटार क्षेत्रमा केराखेतीमा ठूलो क्षति पुगेको छ ।
हावाहुरीसँगै आएको तेज हावाले दर्जनौँ केराका बोटहरू ढलेपछि स्थानीय किसान चिन्तित बनेका छन् । स्थानीय कृषकका अनुसार पाक्न लागेको केराका बोटहरू ढलेपछि ठूलो आर्थिक नोक्सानी भएको छ । केही किसानले ऋण लिएर व्यावसायिक रूपमा खेती गरेको बताउँदै प्राकृतिक विपत्तिका कारण आफूहरू ठूलो मारमा परेको गुनासो गरेका छन्।
हावाहुरीले विशेषगरी खुला क्षेत्रमा रहेका केराका बगान बढी प्रभावित भएका छन्। किसानहरूले सम्बन्धित निकायसँग क्षतिको मूल्यांकन गरी तत्काल राहत तथा सहयोग उपलब्ध गराउन माग गरेका छन् । स्थानीयवासीका अनुसार पछिल्ला दिनमा मौसम अस्थिर बन्दै गएको छ ।
बेलाबेला आउने हावाहुरीले खेतीपातीमा निरन्तर असर पुर्याउँदै आएको उनीहरूको भनाइ छ ।