जिल्ला प्रहरी कार्यालय पर्सा मधेश प्रदेशकै उत्कृष्ट जिल्ला प्रहरी कार्यालयका रूपमा सम्मानित भएको छ ।
आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत वार्षिक कार्यसम्पादन सम्झौतामा तोकिएका विभिन्न सूचकहरूमा उत्कृष्ट नतिजा हासिल गरेपछि पर्सा प्रहरीले मधेश प्रदेशका आठवटै जिल्लामध्ये पहिलो स्थान प्राप्त गर्न सफल भएको हो । शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रण, फरार अभियुक्त पक्राउ, राजस्व चुहावट नियन्त्रण, प्रहरी प्रशासनको चुस्तता तथा नागरिकमैत्री सेवा प्रवाह लगायतका सूचकहरूमा उत्कृष्ट कार्य सम्पादन गरेबापत पर्सा प्रहरीलाई उक्त सम्मान प्रदान गरिएको हो ।
जनकपुरधामस्थित मधेश प्रदेश प्रहरी कार्यालयमा आयोजित विशेष समारोहमा मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकलाई ‘सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय’ को प्रशंसापत्र हस्तान्तरण गरेका थिए ।
प्रदेश प्रहरी कार्यालयका अनुसार वार्षिक कार्यसम्पादन अन्तर्गत विशेषगरी गत वैशाख महिनामा पर्सा प्रहरीले सम्पादन गरेका गतिविधिहरूको मूल्याङ्कनका आधारमा उक्त सम्मान प्रदान गरिएको हो । पर्सा प्रहरीको निरन्तर मेहनत, अनुशासन, उत्कृष्ट टिमवर्क तथा जिल्लावासीको सहयोगको परिणामले यो उपलब्धि हासिल गरिएकाे प्रहरी उपरिक्षक पाठकले बताएका छन् । आगामी दिनमा अझ जिम्मेवार, पारदर्शी र व्यावसायिक ढंगले नागरिकको सेवामा समर्पित रहने प्रतिबद्धता जनाएका छन् ।
पछिल्लो समय पर्सा प्रहरीले सीमा क्षेत्रमा सुरक्षा निगरानी कडा बनाउनुका साथै अवैध तस्करी, लागूऔषध कारोबार, चोरी–डकैती तथा आपराधिक गतिविधि नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ । भारतसँग खुला सीमा जोडिएको संवेदनशील जिल्ला भएकाले पर्सामा हुने अवैध कारोबार नियन्त्रणमा प्रहरीले विशेष सक्रियता देखाएको छ ।
यसैगरी, नागरिकलाई सहज र छिटो सेवा प्रदान गर्न डिजिटल प्रणालीको प्रयोग, गुनासो सुनुवाइमा तत्परता तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई समेत प्रभावकारी बनाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।