वीरगंजको मुख्य व्यापारिक केन्द्र मेनरोडबाट त्रिभुवन राजपथ स्थानान्तरण गर्ने मन्त्रिपरिषद्को निर्णय पूर्ण रूपमा कार्यान्वयन भइसकेको दाबी गर्दै स्थानीय संघर्ष समितिले मेनरोडलाई औपचारिक रूपमा शहरी मार्ग घोषणा गर्न सरकारसँग माग गरेको छ ।
सो मागलाई लिएर संघर्ष समितिले आइतबार वीरगंजमा थाल बजाएर विरोध प्रदर्शन तथा सरकारको ध्यानाकर्षण कार्यक्रम गरेको हो । प्रदर्शनकारीहरूले मेनरोड परिक्रमा गर्दै घण्टाघरसम्म पुगेर थाल बजाउँदै मेनरोडलाई शहरी मार्ग घोषणा गर्न सरकारसँग आग्रह गरेका थिए ।
संघर्ष समितिका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार त्रिभुवन राजपथलाई मेनरोडबाट हटाइसकिएको छ । साथै नेपाल सरकारको आधिकारिक वेबसाइट तथा ‘रोड डायरी’ मा समेत आवश्यक संशोधन भइसकेको दाबी गरिएको छ । यस अवस्थामा मेनरोडलाई औपचारिक रूपमा शहरी मार्ग घोषणा गर्नुपर्ने उनीहरूको माग छ ।
प्रदर्शनमा स्थानीय व्यापारी, सर्वसाधारण, महिला तथा बालबालिकाको समेत उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मेनरोडलाई शहरी मार्ग कायम गरिए वीरगंजको यातायात व्यवस्थापन, व्यापारिक गतिविधि तथा शहरी सौन्दर्यीकरणमा सकारात्मक प्रभाव पर्ने बताएका छन् ।
वीरगंज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिका अध्यक्ष कुन्दन रौनियारले माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।