शनिबार साँझ आएको भीषण हावाहुरीका कारण बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२२ का थुप्रै घरमा क्षति पुगेको छ ।
हावाहुरीले बिरेदमार, मुलखोला, चकरी र नयाँबस्ती क्षेत्रका स्थानीयको घरमा ठूलो क्षति पुर्याएको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ ।
प्रहरीका अनुसार बिरेदमार क्षेत्रमा मात्रै २६ वटा घरमा क्षति पुगेको छ। केही घर पूर्ण रूपमा भत्किएका छन् भने कतिपय घरका छाना उडाएर हावाहुरीले ठूलो नोक्सानी पुर्याएको छ । घर र छाना उडाएपछि स्थानीय बासिन्दा बिचल्लीमा परेका छन् ।
हालसम्म क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी रहेको भए पनि जीतपुरसिमरा–२२ मा मात्रै सयौँ स्थानीय प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ। जनप्रतिनिधि, प्रहरी र स्थानीयको संयुक्त टोलीले क्षतिको विवरण संकलन कार्य जारी राखेको छ ।
यसैबीच, बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य रहवर अंसारी ले बिरेदमार बस्ती पुगेर क्षतिग्रस्त क्षेत्रको अवलोकन गरेका छन् । उनले हावाहुरीबाट प्रभावित स्थानीयसँग भेट गर्दै आवश्यक सहयोगका लागि पहल गर्ने आश्वासन दिएका छन् ।
स्थानीयले तत्काल राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।