वीरगंज महानगरपालिका–१० अशोक वाटिकास्थित माउन्ट मकालु सेकेन्डरी स्कुल को आयोजनामा एक दिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
शिविर वीरगंज कम्युनिटी आई सेन्टर तथा तिलगंगा आँखा अस्पताल को प्राविधिक सहयोगमा सञ्चालन गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा अनुभवी अप्टोमेट्रिस्ट प्रभात चौरसियाले विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाहरूको आँखा परीक्षण गरेका थिए ।
शिविरमा श्रीती चौधरी र ओमप्रकाश चौधरीले सहजीकरण तथा आवश्यक सहयोग प्रदान गरेका थिए । सहभागीहरूलाई निःशुल्क पूर्ण आँखा परीक्षण सेवा उपलब्ध गराइएको थियो। साथै चस्मा खरिदमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यसैगरी मोतियाबिन्दु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराइने जानकारी पनि दिइएको छ ।
विद्यालयका प्रधानाध्यापक राहुल श्रीवास्तवका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यालय तथा समुदायमा आँखा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै प्रारम्भिक अवस्थामै आँखा सम्बन्धी समस्याको पहिचान गर्नु रहेको हो ।
विद्यालय प्रशासनले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।