सिरहामा दलित समुदायकी महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका–३ का अन्दाजी ५० वर्षीय पवित्रनारायण यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनलाई शनिबार पक्राउ गरिएको हो। पीडित ६० वर्षीया फूलकुमारी खत्वे नरहा गाउँपालिका–३ खोरियाकी स्थानीय बासिन्दा हुन् ।
प्रहरीका अनुसार गत वैशाख २७ गते अपराह्न चराउन लगिएको भैंसी आरोपित यादवको खेतमा पुगेको विषयलाई लिएर विवाद भएको थियो । सोही विवादका क्रममा यादवले पीडित महिलामाथि निर्घात कुटपिट गरेको आरोप छ ।
पीडितले दिएको जाहेरीमा आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरिएको उल्लेख छ । सोही जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई चोहर्वाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हाल उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार आरोपित यादव राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता रहेको बताइएको छ ।