पर्सा राष्ट्रिय निकुञ्ज र त्यहाँ तैनाथ नेपाली सेनाको श्री सबुज गणको संयुक्त टोलीले निकुञ्ज क्षेत्रबाट जरायोको मासुसहित दुई जनालाई पक्राउ गरेको छ ।
निकुञ्ज प्रशासनका अनुसार जेठ ८ गते तामागढीबाट करिब ३ किलोमिटर पश्चिम पर्ने निकुञ्जको कोर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरू निकुञ्जको मध्यवर्ती क्षेत्र आसपास बसोबास गर्ने स्थानीय बासिन्दा रहेको खुलेको छ । उनीहरू वन्यजन्तु शिकार तथा अवैध ओसारपसारमा संलग्न रहेको आशंका गरिएको छ ।
त्यसैगरी पछिल्लो तीन महिनामा सुरक्षा टोलीले निकुञ्जका विभिन्न स्थानबाट चार थान भरुवा बन्दूक र सात जना शिकारीलाई नियन्त्रणमा लिँदै ठूलो परिमाणमा जरायोको मासु बरामद गरेको निकुञ्ज प्रशासनले जनाएको छ ।
पक्राउ परेकामाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।