महोत्तरीको सदरमुकाम जलेश्वरमा सोमबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ साहुजी टोलका ७५ वर्षीय चन्देश्वर साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वरबाट मतिहानीतर्फ जाँदै गरेको ना ४ ख ४७५८ नम्बरको बसले जलेश्वर नगरपालिका–२ स्थित मतिहानी चोकमा पैदलयात्री साहलाई ठक्कर दिएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका साहलाई तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ भने शवलाई पोस्टमार्टमका लागि पुनः प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।