मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा आज सुनुवाइ हुन सकेको छैन ।
समयमै मिसिल अदालतमा पेश नभएपछि सुनुवाइ हुन नसकेको हो । उक्त मुद्दालाई अदालतले “हेर्दाहेर्दैमा” राखेको छ । बिहीबार जिल्ला अदालत पर्साले प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो । त्यसपछि शुक्रबार सर्वोच्च अदालतले उनलाई थप म्याद नथप्न आदेश दिएको थियो ।
प्रसाईंको तर्फबाट आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरिएको थियो । सोही निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो । न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले प्रसाईंको रिट खारेज गर्दै सरकारका नाममा आदेश जारी गरेको जनाइएको छ । राष्ट्र, राष्ट्रियता तथा नागरिक बचाउ अभियानका अध्यक्षसमेत रहेका प्रसाईंलाई कार्यक्रमका लागि पर्सा आएका बेला प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार सार्वजनिक अभिव्यक्तिका क्रममा सामाजिक सद्भाव भड्काउने, घृणा तथा द्वेष फैलाउने र विभिन्न जातजाति तथा समुदायबीचको सम्बन्ध बिगार्ने किसिमका अभिव्यक्ति दिएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो ।