पर्सा जिल्लामा पत्रकारहरूको सदस्यता शुद्धीकरणको माग राख्दै नेपाल पत्रकार महासंघको कार्यालयअगाडि मंगलबारदेखि धर्ना सुरु गरिएको छ ।
सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणका लागि गठित सदस्यता शुद्धीकरण संघर्ष समितिले बिहान ११ बजेदेखि एक घण्टा धर्ना कार्यक्रम सञ्चालन गरेको हो ।
नेपाल पत्रकार महासंघ पर्साका पूर्वअध्यक्ष अनुप तिवारीको संयोजकत्वमा गठित संघर्ष समितिले वर्तमान कार्यसमितिले विगतझैँ छानबिन गरी अयोग्य तथा विधानविपरीत रहेका व्यक्तिहरूलाई सदस्यताबाट हटाउनुपर्ने माग गरेको छ । साथै, विधानअनुसार योग्य र सक्षम पत्रकारहरूलाई अविलम्ब सदस्यता प्रदान गर्नुपर्ने मागसमेत समितिले राखेको छ ।
समितिले सदस्यता छानबिनका लागि आवश्यक पहल नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।
संयोजक तिवारीले लोकतान्त्रिक व्यवस्थामा पत्रकार महासंघजस्तो संस्थाले विधि, विधान र पद्धतिअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार २०७२ माघ १४ गते पूर्वअध्यक्ष शत्रुधन नेपालको संयोजकत्वमा बनेको कार्यदलले तय गरेको मापदण्डअनुसार अयोग्य सदस्यहरू हटाइएको अभ्यास पहिले पनि गरिएको थियो ।
यसअघि संघर्ष समितिले सोमबार नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय तथा मधेश प्रदेश कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको जनाएको छ । समितिले महासंघका केन्द्रीय सचिव अशोक तिवारी र मधेश प्रदेश अध्यक्ष श्याम बन्जारालाई समेत ध्यानाकर्षणपत्र बुझाएको हो ।