रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरमा अवैध रूपमा सञ्चालन भएको जिपलाइनबारे जिल्ला प्रशासन कार्यालय रौतहटले अनुसन्धान सुरु गरेको छ ।
पर्यटन विभागले आभी एडभेन्चर प्रालिद्वारा सञ्चालन गरिएको उक्त जिपलाइन कानुनी इजाजतपत्रबिना सञ्चालन भएको पाइएको भन्दै तत्काल बन्द गरी आवश्यक कानुनी कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार जिपलाइन बन्द गरिएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनुभयो ।
पर्यटन विभागका शाखा अधिकृत सुधा रेग्मीका अनुसार अवैध रूपमा जिपलाइन सञ्चालन भएको सूचना प्राप्त भएपछि आवश्यक कारबाहीका लागि प्रशासनलाई पत्राचार गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले यस विषयमा प्रतिवेदन पेस गर्न पर्यटन विकास कार्यालय रौतहट, घरेलु तथा साना उद्योग कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको छ ।
पर्यटन विकास कार्यालय रौतहटका प्रमुख बबिता जैसवालले प्रदेशमा पर्यटन व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा अन्योल सिर्जना भएको बताउनुभयो । उहाँका अनुसार प्रादेशिक पर्यटन नीति वा कार्यविधि अभावका कारण व्यवसायीहरू प्रशासनिक झन्झटमा परिरहेका छन् ।
सञ्चालक आभी एडभेन्चर प्रालिकी शुभकामना पौडेलले धार्मिक वनसँग जग्गा भाडामा लिएर जिपलाइन निर्माण गरिएको बताउनुभएको छ । उहाँका अनुसार २०७७ सालदेखि सञ्चालनको प्रयास भए पनि विभिन्न कारणले ढिलाइ भएको हो ।
उहाँले परीक्षण चरणमै रहेको अवस्थामा प्रक्रिया पूरा हुनुअघि नै बन्द गरिनु दुःखद भएको प्रतिक्रिया दिनुभयो । “लगानी डुब्ने जोखिम छ, युवाहरूलाई रोजगारी सिर्जना गर्ने अवसर पनि प्रभावित भएको छ,” उहाँले भन्नुभयो ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहका अनुसार नियमानुसार दर्ता प्रक्रिया पूरा भएपछि मात्र सञ्चालन अनुमति दिइनेछ ।
यस्तै, मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव जयकुमार घिमिरेले पर्यटन नियमावलीको मस्यौदा तयारी अवस्थामा रहेको तर प्रशासनिक कारणले जारी हुन नसकेको जानकारी दिनुभयो ।