रौतहटमा गएराति आएको भीषण हावाहुरीबाट प्रभावित परिवारलाई सशस्त्र प्रहरीले राहत सहयोग प्रदान गरेको छ ।
हावाहुरीका कारण घर भत्किँदा एक महिलाको ज्यान गएको घटनापछि सशस्त्र प्रहरी टोली पीडित परिवारको सहयोगमा जुटेको हो ।
जिल्लाको बृन्दावन नगरपालिका–७ स्थित धमौरा गढी टोल निवासी बलिराम यादवको कच्ची घर हावाहुरीका कारण अचानक भत्किँदा उनकी श्रीमती फूलकुमारी यादवको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । घर भत्किँदा परिवारका अन्य सदस्यसमेत त्रसित बनेका छन् ।
घटनापछि नेपाल सुरक्षा बेस सन्तपुरबाट प्रहरी नायब उपरीक्षक विश्वनाथ जी.सी.को नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीले पीडित परिवारलाई लत्ताकपडा, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री वितरण गरेको सशस्त्र प्रहरीले जनाएको छ ।