नेपाल–भारत सीमास्थित सर्लाहीको पर्सा गाउँपालिका–१, सितलपुर टोल नजिक एक बेवारिसे पुरुष मृत अवस्थामा फेला परेका छन् ।
नाम, थर र वतन खुल्न नसकेका अन्दाजी ४० देखि ४५ वर्षका पुरुषको शव मंगलबार दिउँसो दशगजा क्षेत्रको बाटो छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सङ्ग्रामपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले शव देखेपछि घटनाबारे जानकारी गराएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार प्रारम्भिक अनुसन्धानमा मृतकको शरीरमा कुनै पनि चोटपटक देखिएको छैन ।
प्रहरीले ती पुरुषको मृत्यु प्राकृतिक कारण (कालगतिले) भएको हुनसक्ने अनुमान गरेको छ । घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ ।
मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन । ती व्यक्ति भारतीय नागरिक हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।