महोत्तरीको जलेश्वर नगरपालिका–१२ थरुवाही गाउँका १२ वर्षीय गौतम यादव सात दिनदेखि बेपत्ता भएका छन् ।
गौतम जेठ ७ गते बिहान करिब ६ बजे घरबाट जलेश्वर नगरपालिका–२ स्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कुलका लागि निस्किएका थिए। उनी थरुवाही गाउँ निवासी आशुतोष यादव र पुनमाया यादवका छोरा हुन् ।
विद्यालय समय सकिएपछि पनि गौतम घर नफर्केपछि परिवारले विद्यालयमा सम्पर्क गरेको थियो। तर विद्यालय प्रशासनले उनी त्यस दिन विद्यालय नै नआएको जानकारी दिएको परिवारजनले बताएका छन् ।
छोराको अहिलेसम्म कुनै अत्तोपत्तो नलागेपछि परिवारले अपहरण वा बेचबिखनमा परेको हुनसक्ने आशङ्का गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दर्ता गराएका छन् ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।