किर्ते नागरिकता मुद्दामा पक्राउ अनुमति जारी भएपछि फरार रहेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्साले विशेष टोली परिचालन गरेको छ । प्रहरीले सम्भावित क्षेत्रमा निगरानी बढाउँदै खोजी कार्यलाई तीव्र पारेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार मंगलबार पर्सा जिल्ला अदालतबाट मेयर सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि खोजी अभियान सक्रिय बनाइएको हो ।
प्रहरीले मेयर सिंह अदालतमा उपस्थित हुँदा सुरक्षा निकायलाई जानकारी किन नगराइएको तथा कसको संरक्षणमा उनी अदालत पुगे र त्यहाँबाट बाहिरिए भन्ने विषयमा समेत अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरी स्रोतका अनुसार सूचना प्राप्त हुनासाथ विशेष टोली अदालत पुगे पनि टोली पुग्नुअघि नै मेयर सिंह त्यहाँबाट निस्किसकेका थिए ।
फरार मेयरको खोजीका लागि प्रहरीले विभिन्न सम्भावित क्षेत्रमा विशेष निगरानी तथा खोजतलास अभियान सञ्चालन गरिरहेको छ । बहालवाला मेयर नै प्रहरीको खोजी सूचीमा परेपछि वीरगञ्जको राजनीतिक तथा प्रशासनिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ ।