धनुषाको औरही गाउँपालिका परवाहका २८ वर्षीय श्रीनारायण दासको साउदी अरबमा मृत्यु भएको एक महिना बितिसक्दा पनि शव नेपाल ल्याउन नसकिएको कारण परिवारले अन्तिम संस्कार गर्न पाएको छैन ।
दासको गत वैशाख १६ गते साउदी अरबस्थित आफ्नै कोठामा झुन्डिएको अवस्थामा शव फेला परेको थियो । घटनाको खबर आएलगत्तै परिवारले शव नेपाल ल्याउन पहल थाले पनि हालसम्म सफल हुन सकेको छैन । वैदेशिक रोजगारीका लागि चार वर्षअघि साउदी पुगेका दास केही समयअघि बिदामा घर आएका थिए। गत मङ्सिरमा पुनः साउदी फर्किएका उनी करिब छ महिनापछि मृत अवस्थामा फेला परेका हुन् ।
मृतककी पत्नी ममता दासले पतिको शव छिट्टै नेपाल ल्याइदिन सरकारसँग आग्रह गरेकी छन् । उनका अनुसार सम्बन्धित वडा कार्यालय, गाउँपालिकाको वैदेशिक रोजगार शाखा हुँदै वैदेशिक रोजगार विभाग र साउदीस्थित नेपाली दूतावासमा आवश्यक कागजात पठाइसकिएको छ । दासको मृत्युले परिवारसहित गाउँ नै शोकमा डुबेको छ । मृतकका दुई छोरा, पत्नी र वृद्ध बुवा रहेका छन् । स्थानीयका अनुसार शव नआउँदा परिवारले अन्तिम संस्कार गर्न पाएको छैन भने घरमा महिना दिनदेखि चुलोसमेत बलेको छैन ।
परिवारले सरकार तथा सम्बन्धित निकायसँग शव यथाशीघ्र नेपाल ल्याइदिन र आवश्यक आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराइदिन आग्रह गरेका छन् ।