सर्लाहीको कौडेना गाउँपालिका–१, लक्ष्मीपुरमा बुधबार साँझ विषालु सर्पले डसेर एक बालकको मृत्यु भएको छ । स्थानीय रवीन्द्र गिरीका तीन वर्षीय छोरा आदित्य गिरीको सर्पको डसाइबाट ज्यान गएको हो ।
कौसीमा खेलिरहेका बेला सर्पले डसेपछि गम्भीर बिरामी भएका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उपचारमा ढिलाइ र चिकित्सकको लापरवाही भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले अस्पताल परिसरमा केहीबेर हो–हल्ला गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले सम्झाइबुझाइ गरेको थियो ।
बालकको शव पोस्टमार्टमपछि बुधबार साँझ नै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गर्मी र बर्खायाम सुरु भएसँगै तराई क्षेत्रमा सर्पदंशका घटना बढ्दै गएको भन्दै चिकित्सकहरूले सावधानी अपनाउन आग्रह गरेका छन् ।