वीरगंज महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि संस्थागत विद्यालयमा कक्षा ९ र ११ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आवेदन खुला गरेको छ ।
आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको महानगरले जनाएको छ ।
महानगरपालिकाका अनुसार इच्छुक विद्यार्थीहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिएका विद्यार्थीहरूको लिखित परीक्षा सञ्चालन गरी योग्यताका आधारमा छात्रवृत्ति प्रदान गरिने शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिएका छन् ।
कक्षा ९ का लागि २०८२ सालको नगरस्तरीय कक्षा ८ परीक्षामा ग्रेडेड भएका विद्यार्थी तथा कक्षा ११ का लागि २०८२ सालको एसईई परीक्षामा ग्रेडेड भएका विद्यार्थीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । महानगरले जारी गरेको सूचनाअनुसार अनलाइन आवेदन फाराम बुधबार बिहान १० बजेदेखि जेठ २७ गते राति ११:५९ बजेसम्म भर्न सकिनेछ । आवेदन महानगरपालिकाको आधिकारिक छात्रवृत्ति पोर्टल मार्फत दिन सकिने व्यवस्था गरिएको छ ।
वीरगंज महानगरपालिकाले विगत केही वर्षदेखि संस्थागत विद्यालयमा अध्ययनका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ ।