पोखराको पृथ्वीचोकस्थित सरकारी जग्गा अतिक्रमण गरी नेपाली कांग्रेस र नेकपा एमालेका भ्रातृ संस्थाका नाममा निर्माण गरिएका भवनहरूमा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । लामो समयदेखि सरकारी जग्गा प्रयोग गरी भाडामा समेत लगाइएका संरचना हटाउन महानगरले कारबाही अघि बढाएको हो ।
पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गा कब्जा गरी यी दुई दलका भ्रातृ संस्थाका नाममा भवन निर्माण गरिएको थियो । भवनका सटर तथा कोठा भाडामा लगाएर व्यावसायिक रूपमा प्रयोग गरिएको भए पनि त्यसबाट राज्यलाई कुनै राजस्व नपुगेको बताइएको छ ।
महानगरपालिकाले पटक–पटक सरकारी जग्गा खाली गर्न सूचना जारी गरे पनि अटेर भएपछि बिहीबार डोजर चलाइएको हो । पोखरा महानगर कार्यपालिकाको वैशाख ४ गतेको बैठकले ३५ दिने सूचना जारी गर्दै सरकारी जग्गा खाली गर्न निर्देशन दिएको थियो । तोकिएको समयभित्र पनि संरचना नहटाएपछि महानगरले आफैं खाली गराउने र लागेको खर्च सरकारी बाँकी सरह असुल गर्ने निर्णय कार्यान्वयन गरेको हो ।
सूचनापछि केही संस्थाहरूले कच्ची संरचना आफैं भत्काए पनि कांग्रेस र एमालेका भ्रातृ संस्थाका भवन भने यथावत् रहेका थिए । डोजर चलाउने सूचना आएपछि भाडामा रहेका व्यवसायीहरूले भने आफैं सामान हटाएका थिए ।
महानगरले यसअघि पोखराका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान सर्वपक्षीय सहमतिमा अघि बढाइएको जनाएको छ । मेयर धनराज आचार्यका अनुसार फिर्केखोला र पृथ्वीचोक क्षेत्रका सार्वजनिक जग्गा खाली गर्ने अभियान सबै दलको सहमतिमा सञ्चालन भइरहेको हो ।
उक्त स्थानमा कांग्रेस, एमाले र तत्कालीन माओवादीसँग सम्बन्धित भ्रातृ संस्थाका नाममा भवन निर्माण गरिएको थियो । भवनहरूमा ट्रेड युनियन तथा मजदुर संगठनका कार्यालयका बोर्ड राखिए पनि सटर तथा कोठा भाडामा लगाइएको थियो ।
नगर विकास समितिका अनुसार करिब दुई दशकअघि नै सरकारी जग्गा अतिक्रमण गरी प्रारम्भमा एकतले भवन बनाइएको र पछि क्रमशः तला थपिँदै संरचना विस्तार गरिएको थियो ।
अधिकार क्षेत्रका अनुसार सो जग्गा २०३० सालतिर बसपार्कसहितका संरचनाका लागि अधिग्रहण गरिएको थियो । तत्कालीन योजनाअनुसार उक्त क्षेत्रलाई संस्थागत क्षेत्र बनाउने उद्देश्य राखिएको थियो, जहाँ विभिन्न सार्वजनिक संस्थानहरू राख्ने योजना थियो ।
तर, समयक्रममा केही जग्गा अतिक्रमण भई निजी तथा राजनीतिक प्रयोगमा आएको देखिएको छ । महानगरले अब उक्त क्षेत्रको सडक विस्तार गरी दुई लेनको मार्ग बनाउने योजना अघि बढाएको जनाएको छ ।
स्थानीय तह र नगर विकास समितिका अनुसार अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक क्षेत्रको सडक फराकिलो हुने र सहरी सौन्दर्य तथा यातायात व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ ।