जनकपुरधाम । मिटरब्याज पीडितहरूले आगामी जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने घोषणा गरेका छन् ।
बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मिथिला कमान्डले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै मिथिला कमान्डका इन्चार्ज मोहन महतोले आगामी मंगलबार मिथिला कमान्ड र भोजपुरा कमान्डको नेतृत्वमा शान्तिपूर्ण रूपमा धनुषा जिल्ला अदालत घेराउ गरिने बताए ।
उनले विगत १२ दिनदेखि पीडितहरू आन्दोलनमा रहे पनि राज्यपक्ष आफूहरूको मागप्रति गम्भीर नभएको आरोप लगाए ।
महतोले भने, “हामी विगत १२ दिनदेखि आन्दोलनमा छौँ । यस अवधिमा पनि पीडितहरूको कुरा सुनिएको छैन। छलफलमा समेत मिटरब्याजीहरूले वास्ता गरेका छैनन् । त्यसैले अब आन्दोलनलाई थप सशक्त बनाउँदै जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने कार्यक्रम तय गरेका छौँ ।”
उनका अनुसार आन्दोलनमा मधेस प्रदेशका विभिन्न जिल्लाबाट ८ हजारदेखि १० हजारसम्म मिटरब्याज पीडित सहभागी हुनेछन् ।
मिटरब्याज पीडितहरूले न्याय र समस्या समाधानको माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।