धनुषा जिल्लास्थित नापी कार्यालयमा नक्सा प्रणालीमा व्यापक फेरबदल गरिएको भन्दै स्थानीयवासीले गम्भीर अनियमितताको आरोप लगाएका छन् । लक्ष्मीनिया गाउँपालिका–७ कुम्हरौडामा नेपाल सरकारको नाममा रहेको पोखरी, कुलो, पैनी, मठमन्दिर, पुस्तकालयलगायत सार्वजनिक जग्गासमेत कम्प्युटर नक्सामा परिवर्तन गरिएको दाबी गरिएको छ ।
स्थानीयका अनुसार पहिले नै नापी भइसकेको र लालपुर्जा जारी भइसकेको जग्गासमेत हाल कम्प्युटर प्रणालीमा फरक स्थानमा देखिएको छ । नापीको ब्लुप्रिन्ट नक्सा र कम्प्युटर नक्साबीच चार किल्लामा समेत ठूलो अन्तर देखिएको उनीहरूको भनाइ छ । कतिपय अवस्थामा पूर्वतर्फ रहेको जग्गा कम्प्युटर प्रणालीमा पश्चिमतर्फ सारिएको जस्तो देखिएको आरोप छ ।
कुम्हरौडाका स्थानीयले पछिल्लो केही दिनदेखि जग्गाको यकिन विवरण लिन नापी कार्यालयमा जाँदा भोगचलन र नक्साबीच मेल नखाने समस्या देखिएको बताएका छन् । उनीहरूले नापी कार्यालयका जिम्मेवार अधिकारीहरूसँग सम्पर्क गर्दा “कम्प्युटर प्रणालीमा चलखेल भएको हुन सक्ने” भन्दै स्पष्ट जवाफ नदिएको गुनासो गरेका छन् ।
गाउँ ब्लकको जग्गा नापी भएको झण्डै एक दशक बितिसक्दा पनि हालसम्म लालपुर्जा वितरण नभएको स्थानीयको भनाइ छ । यसबीचमा सार्वजनिक पोखरी, कुलो, डबरी, मठमन्दिरजस्ता सरकारी जग्गा समेत व्यक्तिको नाममा नापी गरिएको आरोपसमेत लागेको छ ।
स्थानीयका अनुसार ब्लुप्रिन्ट र कम्प्युटर नक्सामा करिब २० भन्दा बढी कित्तामा फरक देखिएको छ । कतिपय सार्वजनिक जग्गा व्यक्तिको नाममा देखिएपछि विवाद झन् जटिल बनेको उनीहरूको भनाइ छ । नापी कार्यालयका केही कर्मचारीहरूले भने सरकारी र व्यक्तिगत जग्गाको यकिन स्पष्ट नभएसम्म लालपुर्जा वितरण गर्दा थप विवाद र कानुनी समस्या उत्पन्न हुन सक्ने भन्दै प्रक्रिया रोकिएको बताएका छन् ।
स्थानीयले कम्प्युटर प्रणालीमा भएको नक्सा ब्लुप्रिन्टसँग नमिल्ने गरी परिवर्तन हुनु गम्भीर अनियमितता भएको दाबी गर्दै तत्काल छानबिनको माग गरेका छन् । उनीहरूले बदमासी गर्ने कर्मचारीमाथि कारबाही गर्न र पुरानो ब्लुप्रिन्टअनुसार नक्सा सच्याउन आग्रह गरेका छन् । यता, भूमि विवाद समाधान नगरे दीर्घकालीन रूपमा ठूलो समस्या उत्पन्न हुने चेतावनी नापीका केही अधिकृतहरूले समेत दिएका छन् । संरचना निर्माण तथा जग्गा कारोबारसमेत विवादित बन्न सक्ने अवस्था रहेको उनीहरूको भनाइ छ ।
स्थानीयवासीले पुनः नापजाँच गरी वास्तविक भोगचलनका आधारमा नक्सा अद्यावधिक गर्न माग गर्दै तत्काल समस्या समाधान नभए नापी कार्यालयविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।