नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको समन्वयमा वीरगंजमा एकदिने कृत्रिम घटनामा आधारित ‘रेडक्रस इमर्जेन्सी क्लिनिक’ कार्यक्रम सम्पन्न भएको छ ।
हाल विभिन्न क्षेत्रमा देखा परेको हैजाजन्य (कोलेरा) महामारीको जोखिमलाई मध्यनजर गर्दै महामारीका बेला अपनाउनुपर्ने सतर्कता, प्राथमिक उपचार, सरसफाइ तथा आपत्कालीन व्यवस्थापनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा कृत्रिम घटनाको अभ्यासमार्फत महामारी फैलिएको अवस्थामा रेडक्रसकर्मी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूले उद्धार, प्राथमिक उपचार, समन्वय तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने प्रक्रिया व्यावहारिक रूपमा प्रदर्शन गरेका थिए । अभ्यासका क्रममा संक्रमित बिरामीको उद्धार, प्राथमिक उपचार, सुरक्षित स्थानमा स्थानान्तरण, सरसफाइ व्यवस्थापन तथा समुदायमा सचेतना फैलाउने गतिविधि समेटिएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल ले महामारी तथा विपद्को समयमा यस्ता अभ्यासमूलक कार्यक्रम प्रभावकारी हुने बताए । उनले रेडक्रस मानवीय सेवामा निरन्तर सक्रिय रहेको उल्लेख गर्दै आपत्कालीन अवस्थाको सामना गर्न स्वयंसेवक तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रम संयोजक टीकाराज पौडेल ले महामारी नियन्त्रणका लागि समुदायस्तरमै चेतना र पूर्वतयारी आवश्यक रहेको उल्लेख गर्दै सरसफाइ, स्वच्छ खानेपानी र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताए ।
कार्यक्रममा केन्द्रीय कार्यालय, जिल्ला शाखा, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो । आयोजकका अनुसार यस प्रकारका अभ्यासले महामारी तथा विपद् व्यवस्थापनमा स्थानीय तहको तयारीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।