रौतहटको लालबकैया नदी यतिबेला अवैध नदीजन्य पदार्थ उत्खननको चपेटामा परेको छ ।
कानुनी रूपमा टेण्डर प्रक्रिया पूरा नगरी ढुंगा, गिटी र बालुवा खुलेआम उत्खनन भइरहेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिका क्षेत्रका जंगलसहिया, सिमरी, राँगी र बोटावा घाटमा बिहानदेखि रातिसम्म नदीजन्य पदार्थ उत्खनन भइरहेको छ। टेण्डर प्रक्रिया नहुँदा नदी दोहन नियन्त्रणबाहिर गएको उनीहरूको आरोप छ ।
फतुवा विजयपुर नगरपालिकामा नदी ठेक्का सम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन मेयर गोपाल राय यादव दोषी ठहर भएपछि टेण्डर प्रक्रिया अलपत्र परेको र कार्यवाहक मेयर अम्बेया खातुनले नयाँ प्रक्रिया अघि बढाउन नसकेको बताइएको छ । गुजरा नगरपालिकामा पनि पछिल्ला दुई वर्षदेखि टेण्डर नखुल्दा नदी ‘खुला दोहनको स्रोत’ बनेको स्थानीयको दाबी छ ।
स्थानीय स्रोतका अनुसार अवैध उत्खननमा संलग्न ट्र्याक्टर व्यवसायीहरूले सुरक्षा निकायलाई मासिक रकम बुझाउने गरेको आरोपसमेत लगाइएको छ । इलाका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बेस क्याम्प क्षेत्रमा रकम बुझाएर नदीजन्य पदार्थ ढुवानी निर्वाध रूपमा भइरहेको स्थानीय समाजसेवी मैनुदिन अन्सारीले दाबी गरेका छन् । यद्यपि, यसको आधिकारिक पुष्टि भएको छैन । त्यस्तै केही जनप्रतिनिधिहरू स्वयं पनि उत्खनन तथा कारोबारमा संलग्न रहेको आरोप स्थानीयले लगाएका छन् । नदी संरक्षण तथा अनुगमनको जिम्मेवारी पाएको जिल्ला समन्वय समिति निष्क्रिय रहेको आरोपसमेत छ ।
यसैबीच समनपुर घाट बागमती पुल पनि अत्यधिक भार बोकेका टिपर र ट्र्याक्टरका कारण जोखिममा परेको स्थानीयले बताएका छन् । पुलको क्षमताभन्दा बढी भार बोकेका सवारी साधनका कारण संरचना कमजोर बन्दै गएको उनीहरूको चिन्ता छ । यस विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल ले नदी अनुगमन तथा कारबाहीको अधिकार जिल्ला समन्वय समितिमा रहेको भन्दै केही दिनभित्र स्थलगत अनुगमन गरिने बताएका छन् ।
त्यस्तै मधेश प्रदेश प्रहरी प्रमुख गोबिन्द थपलिया र सशस्त्र प्रहरीका डीआईजी कृष्ण ढकाल ले अवैध उत्खनन र ढुवानी नियन्त्रण गर्न निर्देशन दिइएको तथा संलग्न प्रहरी भेटिए कारबाही गरिने बताएका छन् ।
स्थानीयले तत्काल नदी उत्खनन नियन्त्रण, प्राविधिक परीक्षण र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।