नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको आफ्नै प्रादेशिक भवन निर्माणका लागि शुक्रबार शिलान्यास गरिएको छ ।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो ले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महासंघको भवनको शिलान्यास गरेका हुन् । गणतन्त्र दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै मन्त्री महतोले महासंघको प्रादेशिक कार्यालयलाई सुविधा सम्पन्न भवनका रूपमा निर्माण गरिने बताए । उनले महासंघका पदाधिकारी, अर्थ मन्त्रालय तथा गृह, सञ्चार तथा कानुन मन्त्रालयबीच समन्वय गरी आगामी बजेटमार्फत आवश्यक रकम व्यवस्थापन गरिने जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा ले अग्रज पत्रकारहरूले देखेको सपना पूरा गर्ने अभियान सुरु भएको बताए । उनले नेपालमै पहिलोपटक मधेश प्रदेश समितिको आफ्नै भवन निर्माण हुने भन्दै यसलाई ऐतिहासिक उपलब्धि भएको बताए । महासंघको निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुसार भवन निर्माण अघि बढाइएको र छिट्टै आधुनिक तथा सुविधासम्पन्न भवन तयार हुने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक केसी लामिछाने, केन्द्रीय सदस्य तथा मधेश प्रदेश इन्चार्ज राजेश कर्ण, आमसञ्चार प्राधिकरणका जितेन्द्र सिंह खड्का, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष बन्दना झा लगायत सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
महासंघका अनुसार प्रारम्भिक चरणमा दुई कोठे भवन निर्माण कार्य सुरु गरिएको छ । कार्यक्रमको सहजीकरण महासचिव शैलेन्द्र महतोले गरेका थिए ।