संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको माता सीताको जन्मभूमि जनकपुरधामलाई विवाह गन्तव्य (वेडिङ डेस्टिनेशन) का रूपमा विकास गर्ने घोषणा गरेका छन् ।
शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले जनकपुरधामलाई धार्मिक पर्यटन केन्द्रका रूपमा प्रवर्द्धन गर्ने योजना सार्वजनिक गरेका हुन् । बजेटमा रामजानकी पथ तथा रामजानकी परिक्रमा सडकको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । साथै मधेस प्रदेशको लाइफलाइन मानिने हुलाकी राजमार्ग, रेलमार्ग, पूर्व–पश्चिम राजमार्गको विकास तथा सडक स्तरोन्नति, पोषण कार्यक्रम तथा शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रका लागि समेत बजेट छुट्याइएको उल्लेख छ ।
यस घोषणालाई स्थानीय स्तरमा सकारात्मक रूपमा लिइएको छ । उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारीका अनुसार यो योजनाले जनकपुरधाममा पर्यटक आगमन बढ्ने र रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।
उनका अनुसार बजेटमा गरिएको कर छुटको व्यवस्थाले उद्योगी–व्यवसायीलाई समेत राहत मिल्ने र व्यवसायिक वातावरण सुधार हुने विश्वास व्यक्त गरिएको छ ।