प्रेस सेन्टर नेपाल पर्साले स्थापना गरेको ‘कृष्णासेन इच्छुक स्मृति पुरस्कार’ तथा ‘क्रियाशील पत्रकारिता पुरस्कार’ शनिबार आयोजित विशेष समारोहबीच प्रदान गरिएको छ ।
यस वर्षको कृष्णासेन इच्छुक स्मृति पुरस्कारबाट प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे तथा क्रियाशील पत्रकारिता पुरस्कारबाट प्रेस सेन्टर पर्साका सदस्य बलिराम यादव सम्मानित भएका हुन् ।
सम्मानित व्यक्तित्वहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवं प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरीले जनही २१ हजार रुपैयाँ नगद, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेले स्वर्गीय कृष्णासेन इच्छुकले निडर, प्रतिबद्ध र जनपक्षीय पत्रकारितामार्फत लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारको पक्षमा महत्वपूर्ण योगदान पुर्याएको स्मरण गरे । उनले प्रजातन्त्र र नागरिक अधिकारको रक्षाका लागि इच्छुकले दिएको योगदान नेपाली पत्रकारिता जगतका लागि प्रेरणादायी रहेको बताए ।
लामिछानेले कृष्णासेन इच्छुक पत्रकारितासँगै साहित्य तथा कविता लेखनमा समेत सक्रिय रहेको उल्लेख गर्दै उनका सिर्जनाले देशप्रेम, सामाजिक न्याय र परिवर्तनको सन्देश प्रवाह गरेको बताए ।
कार्यक्रममा वक्ताहरूले पत्रकारिता क्षेत्रको विकास, प्रेस स्वतन्त्रताको संरक्षण तथा सामाजिक उत्तरदायित्व निर्वाहमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरे । उनीहरूले विभिन्न माध्यमबाट पत्रकार तथा सञ्चार संस्थामाथि आर्थिक दबाब सिर्जना गरी मिडियाको आवाज दबाउने प्रयास भइरहेको आरोप लगाउँदै प्रेस स्वतन्त्रतामाथिको कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताए ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका उपाध्यक्ष गोविन्द देवकोटा, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, प्रेस सेन्टर नेपालकी केन्द्रीय सचिव सुनिता बराल, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णा थापा तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी कार्यक्रममा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र, प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान, क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेल, हिन्दु पत्रकार संघका अध्यक्ष राजन रौनियार, समाजवादी प्रेस संगठनका शम्भु कुमार सुमनलगायत सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव अजित भुजेलले गरेका थिए ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)