लागुऔषध नियन्त्रण अभियान अन्तर्गत पर्सा प्रहरीले एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–१५ त्रिशुल चोकबाट २१ वर्षीय युवक पक्राउ परेका हुन् ।
प्रहरी चौकी भिस्वाबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा शंकास्पद रूपमा भाग्दै गरेका ती युवकलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणपछि उनको पाइन्टको खल्तीबाट लुकाइछिपाइ राखिएको अवस्थामा खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने व्यक्ति वीरगन्ज–१५ भिस्वा बस्ने २१ वर्षीय ऋतिक साह रहेको प्रहरीले जनाएको छ । उनको साथबाट प्लास्टिकसहित ०.६१ ग्राम लागुऔषध जस्तो देखिने पदार्थ बरामद गरिएको छ ।
हाल उनलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।